बङ्लादेशकी पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न त्यहाँको एउटा उच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी जिया लामो समयदेखि विरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले सरकारलाई आदेश दिएको हो ।
न्यायाधिश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको सिन्ह्वाले जनाएको छ। पुर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए ।
केही हप्ता पहिले नेतृ जियाले आफु अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बताएकी थिइन् । त्यसपछि उनका समर्थकहरू थप आक्रोशत भएका थिए ।
पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षकी जिया कारागारभित्र ह्वीलचेयरमार्फत आवातजावत गरिरहेकी अवस्थामा देखिएकी थिइन् ।
अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् । उनले केही हप्ता पहिला भनेकी थिइन् “मैले न्याय पाउँदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।”
“तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ”, उनले थपेकी थिइन् ।
बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको आरोप लगाउँदै आएकी छिन् । बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एककोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।