सन्दीप लामिछानेको टिम धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित

| 2018 Oct 28 | 02:59 pm 2138

पोखरा, कार्तिक ११ :  पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो।

धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विराटनगरले १६.४ ओभरमा १ सय ४ रनमै सीमित भए। निर्धारित २० ओभरको खेलमा धनगढीले ९ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो। धनगढीका डेविट लोरेन्सले ३ र दीपेन्द्रसिंह एेरीले २ विकेट लिए।

विराटनगरका लागि मोहम्मद जाहिद आलामलले १९ र आन्द्रु सुबिक्सनले १८ रन जोडे। त्यसपछि राजु रिजाल ५, किशोर महतो ९, राजेश पुलामी मगर २ र पुष्प थापा २ ले पनि दोहोरो अंक छुन सकेनन् । सन्दीप लामिछाने १० रनमा आउट भए । धनगढीका लागि ड्यानीएल लरेन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । दिपेन्द्रले पनि २ विकेट हात पारे । रोबिन क्षेत्री, डेविड ट्रेगो र कमलसिंह ऐरीले १/१ विकेट लिए ।

त्यसअघि धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रन बनाए । ३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन, सन्दीप सुनार ९ रन, दीलिपनाथ ८ रन जोडेका थिए । कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै धनगढीलाई बलियो बनाएको थियो । सन्दीप जोरा १२ रनमा आउट भएका थिए । रोविन क्षेत्रीले १० रन, योगेन्द्रसिंह कार्कीले ६ रन, मन्जित श्रेष्ठ १ रन, सौरभ खनालले ४१ रन बनाएका थिए । विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए। यस्तै किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले एक एक विकेट लिए।

यसअघि पहिलो खेलमा धनगढी काठमाडौं रोयल्ससँग पराजित भएको थियो भने विराटनगर पोखरा पल्टनसँग पराजित भएको थियो। प्रतियोगितामा धनगढीको यो पहिलो जित हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.