पीपीएल क्रिकेट : पोखरा र काठमाडौं दोस्रो चरणमा

| 2018 Nov 03 | 02:47 pm 1588

पोखरा, कार्तिक १७ : घरेलु टोली पोखरा पल्टन सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो।

पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रबि इन्दर सिंहले २२ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले अविजित १५ रन जोड्दा आसिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेको छ । काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे।

त्यस्तै पवन सरार्फले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै मोहमद नाभिद र राशिद खानले २/२ विकेट लिए।

जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहदै पोखरा दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ । काठमाडौं पनि दोस्रो चरणमा पुगेको छ।

अब अन्तिम खेलले फाइनल पुग्ने र प्ले अफ खेल्ने टोलीको टुंगो लाग्नेछ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर (प्ले अफ) खेल्नेछ।

पोखराको जितसंगै बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । अब चितवन राइनोज र एक्स्पर्ट धनगढीमध्ये एक टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.