पोखरा, कातिक १८ : पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोज प्रवेश गरेको छ । अाज दिउँसाे भएकाे खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा पुगेको हो ।
काठमाडौंले दिएको ९५ रनको सामान्य चुनौती चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए ।
त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए । काठमडौंमाथि जित हात पारेपनि चितवनको सुरुवाती भने खराब भएको थियो । २ रन हुदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो । काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए भने पवन सर्राफले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको थियो । काठमाडौंका कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । तर उनले ३५ बलमा सामाना गरेर २ चौका प्रहार गरेका थिए । त्यस्तै, जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए ।