बारा, चैत्र २४ : असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन । बाराको फेटा, भरबलियाका बासिन्दा । साताअघिको हावाहुरीबाट पीडित उनीहरू टेन्टमा बस्दै आएका छन् ।
‘हुरी दोहोरिएर आए के गर्ने रु हामीसँग विकल्प नै छैन,’ भरबलियाका ७० वर्षीय रामचन्द्र मुखियाले भने, ‘अहिले हावाहुरीको मौसम छ । वर्षातको समय नजिकिँदै छ ।’
बासस्थानको समस्या बालबालिका र वृद्धवृद्धालाई बढी छ । गर्मी बढदो छ । शीतल ताप्ने छहारीसम्म छैन । रुखबिरुवा समेत हुरीले ढालेको छ, कतै हाँगाबिँगा उडाएको छ । ‘राति हावा आउँदा टेन्टसितै उडाएर लग्ला जस्तो हुन्छ,’ स्थानीय श्यामप्रसाद कुर्मीले भने, ‘डरैडरले रात काट्छौं ।’
दिउँसो सहज देखिए पनि साँझ परेपछि स्थानीय बासिन्दा त्रासैत्रासमा टेन्टभित्र पस्छन् । भत्किएका घरबाट सामान निकाल्ने काम सकिएको छैन । सेना, सशस्त्र र नेपाल प्रहरीले स्थानीयलाई बासस्थान व्यवस्थामा सहयोग गर्दै आएका छन् । विद्यार्थी संगठनहरूले गाउँमै पुगेर सफाइमा समेत सघाउँदै आएका छन् । अब दिगो र बलियो बासको मात्र खाँचो रहेको स्थानीय बताउँछन् । तराईमा हावाहुरीको समय टरिसकेको छैन । तराई डुबानमा पार्न सक्ने वर्षात् आउँदै छ । शनिबार वर्षा भएकाले पनि स्थानीय बढी चिन्तित छन् ।
‘कच्ची घर हुनेको धेरै धनजन क्षति भयो,’ मधेसविज्ञ सुरेन्द्र लाभले भने, ‘अब ती बस्तीमा कच्ची घरले धान्दैन, सरकारले योजना बनाएर पक्की घर बनाई न्यून आयस्तर भएकाहरूलाई सुरक्षित पार्नुपर्छ ।’ प्राकृतिक विपत्ति हरेक वर्ष आए पनि बारामा आएको शक्तिशाली हावाहुरी दुर्लभ रहेको उनले बताए । ‘यस्तो विपद् फेरि नआउला भन्न सकिँदैन,’ उनले भने, ‘यसबाट जोगिने उपाय सरकार र व्यक्ति दुवैले लगाउनुपर्छ ।’
हुरीले गर्दा बारामा २८ र पर्सामा १ जनाको मृत्यु भयो । ७ सय भन्दा बढी घाइते भए । २ हजार बढी घर भत्किएका छन् । घाइतेहरू अझै अस्पतालमै छन् । बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ सबैभन्दा बढी प्रभावित बनेको छ । यो गाउँमा मात्र ८ जना र सिंगो गाउँपालिकामा १८ जनाको ज्यान गुम्यो । प्राविधिक सल्लाहबिनै निर्माण गरिएका घरमा बढी क्षति भएको छ । अधिकांशको घर भत्किँदा थिचिएर ज्यान गएको हो ।
फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले फेरि हावाहुरीको समस्या देखा परे पीडितलाई विद्यालय, स्वास्थ्यचौकीमा राख्ने बताए । सबैको ध्यान खिचिएकाले घर निर्माण पनि चाँडै सुरु हुने उनले दाबी गरे ।
गाउँमा टाढाटाढाबाट राहत बाँड्न आउनेको भीड लाग्ने गरेको छ । सबैको ध्यान खाद्यान्न वितरणमै केन्द्रित छ ।
स्थानीयले यति बेला बास मुख्य समस्या बनेको बताए । ‘टेन्टमा बस्दा ज्यान जोगिएला जस्तो लाग्दैन,’ जकिर मियाँले भने, ‘हावाहुरीले टेन्ट उडायो भने कसरी बच्ने ?’ उनले सरकार चाँडै घर बनाइदिनेतिर लाग्नुपर्ने सुनाए । टेन्टले सामान्य वर्षात् मात्र धान्न सक्छ । प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको पनि समस्या छ ।
हुरीपीडितलाई परिचयपत्र
बारा– फेटा गाउँपालिकाले हुरीपीडितलाई परिचयपत्र लागू गरेको छ । राहत दुरुपयोग भइरहेको गुनासो बढेपछि पालिका बैठकले परिचयपक्र लागू गर्ने निर्णय गर्दै शुत्रबारबाटै परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।
फेटा गाउँपालिका ७ गम्हरिया, वडा ६ को पुरैनिया, वडा ३ को गछिया टोलको ३ सय जनालाई परिचयपत्र बाँडिएको पालिका अध्यक्ष अमिरीलाल प्रसादले बताए । पालिकाको वडा १, भलुही र भरबलिया गाउँमा शनिबार परिचयपत्र वितरण गरिने उनले जनाए । ‘राहत वितरण भद्रगोल भएको र गैरपीडितले लिने गरेकाले परिचयपत्र वितरण गर्न लागिएको हो,’ उनले भने, ‘कुन स्तरको क्षति भएको हो, खुलाएर परिचयपत्र बनाइएको छ ।’
यसैबीच विपत व्यवस्थापन समितिले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मुरारी कार्कीले बताए । समितिले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार १ हजार ८ सय ५५ घरमा हुरीले क्षति पुर्याएको छ, जसमा ९ सय ४० घर पूर्णरूपमा ध्वस्त भएका छन् । ९ सय ५५ घरमा आंशिक क्षति पुगेको छ ।(कान्तिपुर दैनिकबाट)