बुटवलले पोखरालाई दियो १ सय ५१ रनको लक्ष्य

| 2018 Oct 28 | 03:15 pm 2352

पोखरा, कात्तिक ११ :  पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको छ। पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो।

बुटवलका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ५४ रन जोडे। सार्कीले बुटवलको इनिङ उकास्ने क्रममा २ चौका र ३ छक्का प्रहार गरे। उनले ३५ रन बनाएर खेलिरहेको बेलमा विकेट पछाडि विनोद भण्डारीले क्याच मिस गर्दा जीवनदान पाएका थिए।

त्यस्तै रोहान मुस्ताफाले ४५ रनको योगदान गरे। युएईका कप्तान उनले पोखराका शरद भेषवाकरको एलबिडब्लूको धरापमा पर्नुअघि ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मुस्ताफा र भीम सार्कीबीच तेस्रो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो।

त्यसअघि ओपनरहरु चिराग सुरी ५ रन र सागर पुन २ रनमै आउट भएका थिए भने सिद्धान्त लोहनीले ११ बलमा १ छक्काको मद्दतमा १३ रन जोडे। कप्तान सोमपाल कामी अन्तिम २ बल बाँकी छदा २२ रनमा रनआउट भए। सोमपालले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

बलिङमा पोखराका मोहमद नाभीदले ३ विकेट लिए। मेहबुब आलाम, शरद भेषवाकर र ललितनारायण राजवंशीले १-१ विकेट लिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.