धनगढीले बुटवललार्इ २० रनले हरायाे, सबै दोस्रो चरण सम्भावना जिवितै

| 2018 Nov 01 | 05:24 pm 3105

पोखरा, कार्तिक १५ :  पोखरा जरी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत बिहीबार दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । विहीबार भएको खेलमा बुटवल धनगढीसँग २० रनले पराजित भएपछि प्रतियोगिताको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ ।

धनगढीले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले खराब सुरुवातलाई निरन्तरता दियो । निर्धारित २० ओभरमा बुटवलले ६ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । दोस्रो ओभरमा सागर पुनलाई गुमाएको बुटवलले १० औं ओभरमा ४५-४ को स्थितिमा थियो । तेस्रो नम्बरमा आएका चिराग सुरीले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । उनले ५४ बलमा नटआउट ७९ रन जोडे । चिरागले १२ चौका र १ छक्का प्रहार गरेका थिए । बुटवलका रोहन मुस्तफा २० रनमा छँदा रनआउट भएका थिए ।

त्यसअघि सागर पनि रनआउट नै भएका थिए । सागर १, भीम अर्की ५ तथा शंकर राना शून्यमा पेभेलियन फर्किए । तल्लोक्रममा सिद्धान्त लोहनी र सोमपाल कामीले १२-१२ रन जोडे । टोलीमा पुनरागमन गरेका सागर ढकालले कसिलो बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ड्यानीएल लरेन्स र कमलसिंह ऐरीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको धनगढीका लागि दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले चौथो विकेटको लागि १ सय ८ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्र रनमा ५६ नटआउट रहे । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लरेन्स ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे ।

त्यसअघि पिटर ट्रेगोले १४ जोडेका थिए । ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०-१० रन जोडे । बुटवलका लागि पोखरेली खेलाडी विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र अविनाश बोहराले १ विकेट लिए ।

यस जितसँगै दुवै टोलीको प्लेअफ सम्भावना जीवित रहेको छ । दुवै टोलीको ४ खेलमा २ जित र २ हारसहित ४ अंक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.