पाेखरामा अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना निर्माणले लियो गति

रिपोर्ट नेपाल | 2019 Jan 10 | 03:06 pm 2285

पोखरा, पुस २६ : पोखराको पचभैयामा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखानाको निर्माण तीव्र गतिमा अघि बढेको छ ।

तालैताल र प्राकृतिक साैन्दर्यले युक्त पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणासाथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर निर्माण कार्य बढाइएको हो ।

क्लबका संस्थापक अध्यक्ष एवं चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलका अनुसार यस क्षेत्रको १३४ हेक्टर वन क्षेत्र समेटेर चिडियाखाना बनाइनेछ । चिडियाखाना निर्माणकै सहयोगार्थ क्लबले वर्षेनी पोखरा महोत्सव गर्दै आएको छ । महोत्सवको नवौँ संस्करण यही पुस २७ देखि माघ ८ गतेसम्म हुनेछ ।

महोत्सवको आम्दानीमध्ये प्रत्येक वर्ष २० प्रतिशत रकम चिडियाखानाका लागि छुट्याउने गरिएकोमा हालसम्म सङ्कलित रकमबाट रु ४५ लाख ८५ हजार चिडियाखाना निर्माणमा नै खर्चि सकिएको छ ।

अध्यक्ष बख्रेलका अनुसार चिडियाखाना निर्माण गर्न साविक लेखनाथ नगरपालिकाबाट रु १० लाख, पोखरा महानगरपालिकाबाट रु ३४ लाख, डिभिजन वन कार्यालयबाट रु २४ लाख प्राप्त भई पशुपक्षी उद्धार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान, बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोरलगायतका संरचना निर्माण भइसकेको छ ।

प्रदेश सरकारले पनि चिडियाखानालाई उच्च प्राथमिकतामा राखेको छ । यसै वर्ष गण्डकी प्रदेश सरकारबाट वन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि रु एक करोड ५० लाख छुट्याइएको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि रु एक करोड ५० लाख छुट्याइएको बख्रेलले जानकारी दिए ।

पोखरा जुलोजिकल पार्कका रुपमा निर्माण बढिरहेको जानकारी दिँदै उहाँले चिडियाखानालाई यहाँको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए। चिडियाखाना पर्यटकीय नगरी पोखराबाट जम्मा २५ किमी टाढा पर्छ । पचभैया क्षत्र बेगनास र रुपातालको बीचमा पर्छ । चिडियाखाना भने रुपातालक्षेत्रको जङ्गलमा पर्छ ।

पर्यटकीय शहर पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिडियाखाना स्थापनाको सोच भने २०६७ सालदेखि बढाइएको हो । क्लबले पोखरा महोत्सवको आम्दानीमध्ये चिडियाखानामा सहयोगका साथै अन्य रकमबाट छात्रवृत्ति कोष स्थापना, सेती नदीको संरक्षणलगायतका सामाजिक उत्तरदायित्वका क्षेत्रमा उपयोग गर्ने गरिएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दलहरु विभिन्न सङ्घ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यलाई अघि बढेको जानकारी दिँदै अध्यक्ष गुरुङले चिडियाखाना यस प्रदेशको मात्र नभई राष्ट्रकै गौरव बन्ने विश्वास व्यक्त गरे ।

चिडियाखानाको अवलोकनको लागि जालीको डोम निर्माण गरिने र जनावर, पक्षी खुला छाडिने योजना रहेको चिडियाखाना निर्माण समितिका महासचिव दामोदरभक्त थापाले जानकारी दिए । तारजाली लगाई चिडियाखानामा जङ्गल घुम्दै पर्यटकले जनावरको अवलोकन गर्ने व्यवस्था मिलाइने छ ।

चिडियाखाना पोखरा आउने पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्ने विश्वास व्यक्त गर्दै उहाँले यसले पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउने बताए । चिडियाखाना निर्माण बढ्दै गर्दा यस आसपासका क्षेत्रमा होटल व्यवसायमा लगानी वृद्धि भएको छ भने स्थानीयले घरबास कार्यक्रम पनि सञ्चालन गरेका छन् ।

चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावरको कक्ष बनाउने दीर्घकालीन लक्ष्य राखिएको महासचिव थापाको भनाइ छ । योजनाअनुसार सामुदायिक बनमा भएका जनवारको संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानीअनुसारको जीवजन्तुको प्रदर्शनी कक्षसमेत निर्माण गरिने छ ।

वन्यजन्तुलाई उद्धार गर्न र तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राखी केही स्थानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरी प्रयोगमा ल्याइसकिएको छ । हालसम्म अजिङ्गर, स्याल, वन बिरालो, कछुवा, बाँदर, नीलगाई, रतुवा मृग, खरायोलगायतका जनावर उद्धार गरी संरक्षण केन्द्रमा राखी सकिएको थापाले जानकारी दिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.