पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

| 2022 Jul 24 | 07:47 pm 1969

पाल्पा, साउन ८ः गुल्मीको मजुवाबाट बुटवलतर्फ हिँडेको लु१ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । करिब ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले बताए ।

अहिले घटनास्थलमा जिल्लाबाट खटिएको प्रहरी, हार्थोक र अर्गली प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयबासीहरु उद्धारामा जुटेका छन्। सडकको डिल भासिएर बस दुर्घटना भएको स्थानीय विश्व कार्कीले बताए।

घटनास्थलमा घाइतेहरुको उद्धार गरी १० जनालाई अस्पताल पठाएको र घटनास्थलमा ६ जनाको शव भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले घटनास्थबाट जानकारी दिए।

गुल्मी प्रहरीका अनुसार उक्त बसमा २२ जना सवार रहेको बताएकाे छ । अर्गली प्रहरी चौकीमा सहचालककले १८ जना सवार रहेको टिपोट गराएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए। मृतकहरुको पहिचान भने हुन सकेको छैन। थप विवरण आउन बाँकी छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.