पाल्पाको भैरवस्थान मन्दिरको लाखौँ रकम अनियमितता

रिपोर्ट नेपाल | 2019 Jul 26 | 06:56 am 3257

पाल्पा, साउन १०:  एसियाकै ठूलो सुनौलो त्रिशूल भएको पाल्पाको भैरवस्थान मन्दिरको लाखौँ रकम हिनामिना भएको रहस्य बाहिर आएको छ । पाल्पा जिल्लाकाे रिब्दीकोट गाउँपालिकामा रहेको भैरवस्थान मन्दिर व्यवस्थापन समितिका केही पदाधिकारीहरूले आर्थिक अनियमितता गरेको रहस्य बाहिरिएको हो ।

स्थानीय भक्तजनहरूले पवित्र स्थल जस्तो मन्दिरको रकम वर्तमान कार्यसमितिबाट हिनामिना भएको भन्दै कारबाहीको माग गरेका छन् । बिहीबार उनीहरूले आर्थिक हिनामिना गर्ने व्यक्ति तथा संस्थालाई आवश्यक कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई ध्यानाकर्षण गराएका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र कोषाध्यक्षले रकम अनधिकृत रूपमा बैंकबाट निकालेर चलाएको स्थानीयले बताएका छन् । मन्दिरको रकम तानसेनको गरिमा विकास बैङ्कको खातामा जम्मा रहेको र त्यहाँबाट अध्यक्ष तुलबहादुर अधिकारी र कोषाध्यक्ष मीनप्रसाद अधिकारीको संयुक्त हस्ताक्षरबाट २७ लाख २० हजार निकालेको विषय बाहिर आएपछि अहिले सो रकम बैङ्कमा दाखिला गरी हिसाब मिलन गर्ने कार्य भइरहेकाे छ ।

यस विषयमा अध्यक्ष अधिकारीसँग सम्पर्क गर्दा रकम निकालेको स्वीकार गरेका छन् । ‘मन्दिर निर्माणको काम भइरहेको थियो, निर्माणकर्मी र निर्माण सामग्रीको रकम भुक्तानीका लागि रकम निकालेका हौँ,तर केही समय पछि निर्माण कार्यका लागि पैसा आएपछि त्यो दाखिला गरिएकाे अध्यक्षले बताए ।

यता गाउँपालिका अध्यक्ष नारायण जी.सी. सँग बुझ्दा हिनामिना गरेर जायरी समेत स्थानीयले दिएको बताए । उनले थप अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने पनि जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.