पाल्पाको जडीबुटी उद्योग बन्द

रिपोर्ट नेपाल | 2018 Jul 14 | 02:10 pm 2927

पाल्पा, असार ३०: पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ ।

गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण बन्द भएको हो ।

तिनाउँ गाउँपालिका–३ झुम्सास्थित जुडीबुटी कारखानामा विगत पाँच वर्षदेखि विभिन्न प्रशोधनयन्त्र तथा सरसामान काम नलाग्ने अवस्थामा पुगेका छन्। जडीबुटी पेल्ने मेसिन, आंैजारमा खिया लागेको छ। उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसामान बिग्रिएका छन् । जडीबुटी उद्योग बन्द भएपछि एकजना हेरालुले कार्यालय कुर्दै आएका छन्।

रु एक करोडको लागतमा सहकारीमार्फत सञ्चालनमा आएको उक्त उद्योगबाट तीतेपाती, काउलो हर्राेबर्राे, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो।

जिल्लालाई जडीबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ विसं २०५६ मा सहकारीमार्फत उक्त उद्योग सञ्चालनमा आएको थियो।

शुरुका दिनमा उत्पादन गरेर बेचबिखन गरियो तर सहकारीमार्फत सञ्चालन भएकाले उद्योगको ट्रेडमार्क पाउन सकिएन, हामीले उत्पादन गरेको जडीबुटीको अर्काे पक्षलाई दिई अर्काको ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सञ्चालक नारायणबहादुर जिसीले बताए।

अहिले उद्योगबाट सिलाजित बाहेक अन्य जडीबुटी प्रशोधन हुन सकेको छैन । “उद्योग सञ्चालनका लागि सहकारीका ९० जना शेयर सदस्यबाट रु एक करोड भन्दा बढी लगानी गरेका छौ तर उद्योग सञ्चालन गर्न नसक्दा शेयर सदस्यलाई सावासमेत फिर्ता गर्न नसकिएको हो,” उद्योग सञ्चालक झपेन्द्रबहादुर जिसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.