पार्टीमा रुपान्तरण आवश्यक: वरिष्ठ नेता पौडेल

रिपोर्ट नेपाल | 2021 Oct 04 | 12:46 pm 1825

तनहुँ, असोज १८ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याए ।

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ । कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताए । “चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । ध्रुवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.