पार्टीभित्रकै अन्तर्घातले चुनावमा राम्रो परिणाम आएन: ओली

रिपोर्ट नेपाल | 2022 May 26 | 07:11 am 1573

काठमाडौं, जेठ १२ः नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पार्टीले सोचेअनुसारको नतिजा ल्याउन नसकेको निष्कर्ष निकालेको छ । एमालेले पार्टी एकताबद्ध भएर चुनावमा लाग्न नसक्नु र पार्टीकै उम्मेदवारलाई हराउन अन्तर्घात भएको कारण अपेक्षा गरेको जस्तो नजिता ल्याउन नसकेको निष्कर्ष निकालेको हो ।

एमालेको संसदीय दलको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको बताए । सांसद शेरबहादुर तामाङले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने–‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ, उपमेयर जित्दा मेयर किन जितिँदैन ? यो भनेको अन्तर्घात होइन र?’ उनले ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताए ।

त्यसै गरी ओलीले सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रित नभई निरन्तरता मात्रै भएको टिप्पणी गरे । उनले त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिए ।बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे संक्षिप्त विश्लेषण गरिएको बताउँदै अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएकाले आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

बैठकमा अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा पनि आपत्ति जनाका थिए । उनले अमेरिकी उपविदेश मन्त्री उजरा जेयालाई तिब्बती शरणार्थी शिविरमा जान दिइनुले परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता खण्डित भएको टिप्प्णी गरे ।

उनले तिब्बती शरणार्थीको क्यापमा जान दिएर चीनलाई उक्साउने काम गरेको भन्दै सरकारको नियतमाथि शंका व्यक्त गरे । ओलीको भनाई उद्धृत गर्दै एक सांसदले भने–‘कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो ।’ ओलीले विदेश नीतिमा सरकार परनिर्भर हुन थालेको बताउँदै नेपालले आफ्नो निर्णय आफैं गर्न पाउनेगरी आफूले स्थापित गरेका मान्यतामाथि देउवा सरकारले धावा बोलेको भन्दै आपत्ति जनाए । नेपाल समाचारत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.