काठमाडौं, भदौ २२ : लामो समयदेखि थाती रहेको चीनसंगको पारवहन सम्झौताको प्रोटकल टुङ्गिएको छ। नेपाल र चीनका अधिकारबीच बुधबार र बिहीबार बसेको बैठकले नेपाल सरकार र चीन सरकारबीच २०१६ मा सम्पन्न भएको पारवहन सम्झौताको प्रोटकल टुङ्ग्याइएको हो।
यससँगै नेपालले चीनको सबै बन्दरगाह प्रयोग गर्न सक्ने बाटो खुलेको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्वागत गरेका छन्। उनले यस प्रोटोकलको स्वागत गर्दै विपीको सपना साकार भएको बताएका छन्।
उनले भने, ‘ २०१६ सालमा नेपाल र चीन बीच शुरु गरिएको ऐतिहासिक व्यापार र पारवहन समझौताको कुरा उठाउँदा विपी कोइराला नेतृत्वको सरकार अपदस्थ भएको थियो। देश र जनताको हितका लागी कसैसंग नझुक्ने नेता विपी कोइरालाको सपना आज साकार रुप दिने वर्तमान सरकारलार्इ धन्यवाद।’
उनले थपे, ‘ जसको कारण आज सम्म पनि नेपालले विकासको गति लिन सकेको छैन । लामो समयको प्रतिक्षा पछी नेपालीको सपना साकार भएको छ । चीनको उदारता र सहयोग बुझ्ने नेपाली खुशी हुनेछन्। आजको दिनमा देश र जनताको हितका लागी कसैसंग नझुक्ने नेता विपी कोइराला र उहाँको सरकारलाई आभार सहित नमन्।’
उनले अब भारतसँग परर्निभर भएको नेपाल चिनबाट समेत समुद्रसम्म पुग्ने बाटो खुलेको बताए। उनले भने, ‘नेपाली आमासँग त्रासदिपूर्ण सपना जस्तो बनेर समय समयमा आउने नाकाबन्दी नेपालीले अब भोग्नु पर्ने छैन। अब नेपालले आवश्यकता अनुसार जुन सुकै सुक्खा र अन्य बन्दरगाह प्रयोग गरी सामान ल्याउन सक्ने सहमति भएको छ।’
यस सम्झौतासँगै तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तीअनजीन, सेनजेन, लिआनयुङाङ, झान्जीआङ लगायतका खुला सामुन्द्रिक बन्दरगाहहरु लानजउ, लासा, सिगाच्छेलगायतका सुख्खा बन्दरगाहहर र ती बन्दरगाहहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम ढुवानी प्रक्रिया लागायतक पारवहन सम्बन्धी विविध विषयहरुमा छलफल भई प्रोटोकलको मस्यौदालार्ई अन्तिम रुप दिइएको हो। यसले अब सम्झौता कार्यान्वयनको बाटो खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी)का कार्यकारी निर्देशक शरदबिक्रम रानाले नेपालको पारवहन र व्यापारको लागि यो एतिहासिक निर्णय भएको बताए । ‘हामीले राति अबेसम्म बसेर प्रोटोकल टुङ्गाएका छौं,’ उनले भने ‘व्यपार तथा पारवहनमा उत्तरको ढोका खुलेको छ ।’ उनकाअनुसार अब पारवहनका लागि नेपालसँग जोडिएका सबै चीनका बन्दरगहा खुला भएका छन् । नेपालले उक्त मार्ग हुँदै चीनमा निर्यात तथा चीनबाट आयत गर्न निर्वाद रुपमा गर्न पाउने छ।
त्यस्तै नेपालका बस्तुहरु चीन हुँदै तेस्रो मुलुक निर्यात तथा आयात गर्नका लागि समेत सामुन्द्री तथा सुख्खा बन्दरगाह खुला भएको छ। ‘प्रोटोकललाई अन्तिम रुप दिएता पनि नेपाल र चीन दुवै देशका सरकारले औपचारिक रुपमा पास गर्न भने बाँकी छ,’ उनले भने ‘सो प्रक्रिया पनि चाँडै हुने हामीले विश्वास लिएका छौं ।’
बैंकमा नेपाली पक्षबट नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु र चीनियाँ पक्षको नेतृत्व त्यहाँका यातायात सेवा विभाग, यातायात मन्त्रालयका निर्देशक वाङ शीपीङले गरेका थिए।