पानी नपर्दा किसान चिन्तित

रिपोर्ट नेपाल | 2023 Feb 27 | 07:48 am 1497

कपिलवस्तु, फागुन १५ः लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्।

यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गरे। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उनको भनाइ छ।

अर्का किसान जुबेर अहमद खाँले गहुँ, तोरीमा सिँचाइ हुन नसक्दा बीउ पनि मासिने अवस्था आएको बताए। पानी नपरेका कारण सडक र खेतबारी सबैतिर धुलैधुलो मात्र उड्न थालेको खाँको भनाइ छ।

करेसाबारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरखर्च चलाउन मुस्किल पर्न थालेको कपिलवस्तु नगरपालिका–६ का प्रह्लाद कोहारले बताए।

तरकारी खेतीबाहेक अर्को आम्दानीको स्रोत नभएका हामीजस्ता किसान लामो समयको खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि पिर पर्न थालेको छ, उनले भने।

एक लाख ७३ हजार आठ सय हेक्टर क्षेत्रफलमा फैलिएको कपिलवस्तुमा कृषियोग्य जमिन ८३ हजार हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। सो कार्यालयका अनुसार कृषियोग्य जमिन मध्ये वर्षभरि नौ हजार ८५७ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ। आइतबार साँझबाट भने देशका विभिन्न भागमा पानी पर्न थालेको छ। तर पनि कृषिलगायत अन्नवालीका लागि पर्याप्त हुन नसकेको बताइएको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.