महोत्तरीं, २७ असार : पानी छोएको भन्दै कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले जेल सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
जिल्लाको बर्दिवास नगरपालिका–४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि गएको वैशाखमा कुटपिट गरिएको थियो ।
न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव गरी गालीगलौज तथा कुटपिट भएको ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको हो । गिरीलाई १० हजार जरिवाना पनि तोकेको छ । अदालतले पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।