पानी आपूर्ति बन्द हुँदा अस्पतालमा रोकियो शल्यक्रिया

रिपोर्ट नेपाल | 2023 Feb 24 | 07:37 am 1125

विराटनगर, फागुन १२ः कोसी अस्पताल विराटनगरको हाडजोर्नी विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि तालिकामा भएका सातवटा शल्यक्रिया प्रभावित भएका छन्। बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका पानी नहुँदा रोकिएको हो।

कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रविनराज सिंहका अनुसार बुधबारदेखि नै विभागको पानी आपूर्ति प्रणालीमा समस्या देखिएको थियो। पुरानो पाइपलाइन भएका कारण समस्या देखिएपछि प्लम्बर खटाइए पनि बिहीबार १० बजेसम्म पनि मर्मत हुन नसक्दा यस्तो समस्या आएको हो।

चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ तर पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्युरिफाई प्लान्ट’समेत बन्द हुन पुग्यो। जसका कारण शल्यक्रिया सामग्री स्टरलाइजेसन र डिस्इन्फेक्सन गर्न नसकिएको मेसु सिंहको दाबी छ।

मेसु सिंहले भने, “प्युरिफाई वाटर’मा दुई घण्टासम्म सामान उमालेर मात्रै शल्यक्रिया गर्ने वा बिरामीलाई लगाउनुपर्ने स्टिल सङ्क्रमणरहित गर्नुपर्ने हुन्छ। विभागमा पानी नआएपछि समस्या भएको हो। सम्भव नहुँदा अप्रेसन थिएटर बन्द रह्यो।”

पाइपलाइनभित्र लेदो जमेका कारण पानी आपूर्तिमा अवरोध भएको दाबी छ। कोसी अस्पताल परिसरमा नयाँ संरचना निर्माण गर्ने कामसमेत भएकाले त्यसले समेत कतिपय ठाउँमा पाइपलाइन चुँडिने गरेको छ। उहाँले बिहीबारका बिरामीको शल्यक्रिया शुक्रबार गरिने जानकारी दिए। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.