पानीपोखरीबाट चार जना किशोर चोरहरू समातिए

रिपोर्ट नेपाल | 2018 Dec 21 | 02:52 pm 2516

काठमाडौँ,  पुस ६ : प्रहरीले काठमाडौँको पानीपोखरीबाट चोरीमा संलग्न चारजनालाई समातेको छ ।

रामेछाप घर भई ढल्कु बस्दै आएका १५ वर्षीय अनिल तामाङ, काभ्रे घर भई नयाँबजार बस्दै आएका १६ वर्षीय प्रज्वल तामाङ, मकवानपुर घर भई स्वयम्भु बस्दै आएका १५ वर्षीय राजिव देउला र दोलखा घर भई पकनाजोल बस्दै आएका १६ वर्षीय निमा तामाङलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहीले उनीहरूलाई राति ८ः३० बजे चोरीको सामानसहित पक्राउ गरेको हो । कार्यालयका प्रमुख (डिएसपी) फडिन्द्र प्रसाईंका अनुसार राति सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा रहेको झोलाबाट घरको ढोका फोर्न प्रयोग गरिने औजार भेटिएको थियो । यसका साथै सोधपुछको क्रममा उनीहरूको साथबाट ल्यापटप, मोबाइल र मासु काट्ने हतियारसमेत बरामद गरिएको छ ।

प्रहरी अनुसन्धान अनुसार उनीहरूले विभिन्न क्षेत्रको घर फोरी चोरी गर्ने गरेको पाइएको छ । पक्राउ परेका ती चारै जनालाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.