बाँके, असार २१ः पाटे बाघको छाला र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षीय नवराज घर्तीगर रहेका छन् ।
उनलाई शनिवार जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कुशुम र प्रदेश नं ५ का अनुसन्धान समूहको सयुक्त अनुगमन टोलीले पाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
आइतवार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।
घर्तीमगरलाई अहिले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
उनले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको पाटे बाघको छाला एक थान, हड्डी १० किलो ५ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
घर्तीमगरलाई सोही ठाउँ बस्ने प्रकाश आचार्यले दिएको अनुसन्धानबाट खुल्न आएको एसपी रानाले बताए ।
उनलाई गाभर बस्ने नरे घर्तीले २४ लाखमा बिक्री गराउने कुरा गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रकाश आचार्य र नरे घर्ती भन्ने व्यक्ति फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।