पाँच विधेयक सर्वसम्मत पारित

रिपोर्ट नेपाल | 2019 Mar 18 | 04:58 pm 3093

काठमाडौँ, चैत ४ : राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो ।

यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ । बैठकले उक्त विधेयक सर्वसम्मतिले पुनःपारित गरेको हो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त संशोधन स्वीकार गरी पुनःपारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) र ‘लेखापरीक्षण विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट डा खतिवडाले नै ‘जीवनाशक विषादी व्यवस्थापन विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.