काठमाडौं, भदौ १ : पाँच वार्ष भित्रमा नेपालमा गरिबीको अन्त्य हुने अर्थमन्त्री डा। युवराज खतिवडाले बताएका छन् । शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै पाँच वर्ष भित्रमा नेपालमा गरिबीको अन्त्य हुने बताएको हुन् ।
दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको समेत कार्यक्रममा स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे ।
उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए ।
सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ ।
उनले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए । अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई जानकारी गराए ।