पाँच महिनामा छ खर्बभन्दा बढी रेमिट्यान्स

रिपोर्ट नेपाल | 2024 Jan 12 | 09:34 am 973

काठमाडौँ, पौष २७। चालु आर्थिक वर्षको पाँच महिनामा छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनाको तथ्याङ्कमा आधारित  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति दुई खर्ब दस अर्बले बचतमा

चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मङ्सिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मङ्सिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मङ्सिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

मूल्यवृद्धि उल्लेख्य रूपमा कमी

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मङ्सिरमा मूल्यवृद्धि उल्लेख्य रूपमा कमी आएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ ।

२०८० मङ्सिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहमा रहेका वस्तुहरूको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मङ्सिर महिनामा तरकारी, फलपूmल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मुद्रास्फीतिमा कम चाप पर्न गएको छ । वार्षिक बिन्दुगत आधारमा २०८० मङ्सिर महिनामा आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मुद्रास्फीतिमा कमी ल्याउन सहयोग पुगेको छ ।

(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.