पहिलो पटक सोच नेपालको सामाजिक परीक्षण सम्पन्न

रिपोर्ट नेपाल | 2018 Dec 17 | 08:50 am 1630

– रुद्रदेव पाण्डे

काठमाडाैं , पुस २ : देशमा अहिले लाखौको संख्यामा गैससहरु दर्तामा रहेका छन् । दर्तामा रहेर कृयाशिल रहेका नागरिक समाजका संघ संस्था र गैससहरुले आफु पारदर्शी नभएको भन्ने आरोप पटक पटक खेप्नु परेको छ । गैससहरुले यस्तै आरोप भोगी रहेको अबस्थामा सोच नेपालले आईतवार आफ्नो संस्थाको सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्बजनिक गरेको छ ।
आईतवार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदन माथि सहभागीहरुले आ–आफ्नो भनाई सहित संस्थाको आगामी कार्यहरुको बारेमा सुझाब प्रदान गरेका थिए । सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा भएको छलफल पश्चात सुझाब तथा प्रतिक्रिया दिदै संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले लाखौ संस्थाहरुको बीचमा नामले मात्रै हैन काम नै गरेर स्थापित हुन सकेकोमा संस्थालाई धन्यवाद दिनुभयो । छाउप्रथा, बोक्सी प्रथा, बालविवाह लगायतका कुराहरुवाट हाम्रो समाज कहाली लाग्दो अवस्थामा रहेको बताउदै सांसद सुनुवारले ‘जस्तो समाजको पिडित व्यक्ति हो, त्यस्तै समाजको पिडित’ जस्तै भएर पिडितलाई तथा पिडित समाजलाई सहयोग गर्न र प्रोत्साहन गर्ने कार्यमा संस्था लागिपर्ने अपेक्षा पनि राख्नुभयो ।
हाम्रो समाजमा अझैपनि १३–१४ वर्षमा विवाह गरिदिने चलन छ । १९ वर्षमा २–३ ओटा बच्चाहरुको आमा बन्छन् । बल्ल यौवनावस्थामा प्रवेश गर्दैगर्दा सम्बन्ध विच्छेदको शिकार हुन हाम्रो समाजका बालबालिकाहरु बाध्य रहेको भन्दै कुरीतिको बारेमा सोच नेपालले कार्यक्रम सञ्चालन गर्दैगर्दा त्यसतर्फ पनि लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै महालेखा परीक्षण कार्यालयका उपसचिव दामोदर पुडासैनीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा आफ्नो कुरा राख्दै आफु पारदर्शी बन्ने अभियानको सुरुवात गरेकोमा सोच नेपाललाई धन्यवाद दिनुभएको थियो । राम्रा कामहरुको बिचमा केही नराम्रा कुराहरु पनि हुने बताउदै उहाँले कुरीति, कु–सस्कार लगायत सुशासनका क्षेत्रमा सम्मान गर्न लायक गरि सोच नेपालले नेपाल सरकारका विभिन्न कार्यालयहरुसँग सहकार्य गरि काम गरेकोमा बधाई दिनुभयो ।
नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाका सुशासन विज्ञ कृष्ण पाठकले सोच नेपालले सामाजिक परीक्षणको कार्यको सुरुवात गरेर राम्रो कुराको सुरुवात गरेकोमा बधाई ज्ञापन गर्नुभयो । पाठकले सोच नेपालले गरेको राम्रो कामको बीचमा पनि केही केही सुधार गर्नुपर्ने देखिएकोले सुधारका लागि पनि आग्रह गर्नुभयो । सार्वजनिक परीक्षण कार्यक्रम हुनेबारेमा पहिले नै सूचना गर्नुपर्ने, राम्राको मात्रै भन्दापनि आलोचना गर्नेहरुलाई पनि सहभागी गराएर फिडव्याक लिनुपर्ने, बजेटको खर्चको बारेमा एकमुष्ठ भन्दापनि टुक्रा–टुक्रामा सार्वजनिक गर्नुपर्ने जस्ता सुझाब दिनुभएको थियो ।
कार्यक्रममा मित्र समाज सामाजिक परीक्षक कर्ण बहादुर नेपालीले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालीले सोच नेपालको अरु कुराहरुको तुलनामा राम्रा पक्षहरु धेरै रहेको र संस्था स्थापनाको लक्ष्य र उद्धेश्य अनुसार नै अघि बढेको पाईएको बताउनुभयो । सामाजिक परीक्षण कार्यको प्रतिवेदन तयार गर्ने क्रममा मिडियाको प्रयोग र कार्यालयको डकुमेन्ट ब्यबस्थापन कार्यमा भने सुधार गर्नुपर्ने देखिएको बताउनुभयो ।
नेपानका क्षमता विकास विज्ञ गोविन्दराज पौडेलले नागरिक समाजका संस्थाहरु पनि सुशासित र पारदर्शी हुन्छन् भन्ने कुराको खडेरी परिरहेको अबस्थामा सोच नेपालले खडेरीलाई टार्दै सामाजिक परीक्षणको काम गरेको बताउनुभयो । सोच नेपालले जस्तै अरु सामाजिक संघ संस्थाहरुले पनि अरुलाई सिकाउने मात्रै नभई सुशासित र पारदर्शी हुने कामको सुरुवात आफैवाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नागरिक समाजका संस्थाहरुले आफ्नो आम्दानीको श्रोत र खर्चको बारेमा नागरिकहरुको माझमा सार्बजनिक नगरेकोमा नागरिकहरुले गुनासो गर्दै आएका छन् । अरुलाई चाही सुशासन र पारदर्शिताको पाठ पढाउनेहरुले आफ्नो कार्यालय र संस्थाको आम्दानी र खर्चको बारेमा भने कहिल्यै पारदर्शी गर्ने नगरेको आरोप नागरिक समाज संस्थाहरुले खेप्दै आएका छन् । नागरिक समाजका संस्थाहरुले आम्दानी खर्चको पारदर्शी गर्नुपर्ने दवाव र तनाब ब्यहोर्दै आएका छन् । यसै खडेरीलाई चिर्दै सोच नेपालले आईतवार सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।


सोच नेपालले नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहाडी सहित तराईका ३२ जिल्लामा दाईजो प्रथा, बोक्सी प्रथा, बालविवाह, छाउपडी प्रथा लगायतका क्षेत्रमा कामगर्दै आएको छ । त्यसैगरि नेपाल सरकारका विभिन्न कार्यालयहरुसँग मिलेर सुशासन र पारदर्शिताका लागि सहकार्य गर्दै आएको छ ।
सोच नेपालका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, समाजशास्त्री खगेन्द्र प्रसाई, महालेखा परीक्षकको कार्यालयका सहसचिव दामोदर पुडासैनीले सुझाव तथा सलाह प्रदान गर्नुभएको थियो । त्यस्तै, नेपानका क्षमता विकास विज्ञ गोविन्दराज पौडेल, सोच नेपालका संस्थापक अध्यक्ष रमेश पौडेल, युएसआईडीका सुशासन सल्लाहकार कृष्ण पाठक लगायतले प्रारम्भिक प्रतिवेदन माथि टिप्पणी गर्दै सुझाब व्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.