जाजरकोट, साउन १२: अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ ।
सडक भत्कीएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन नचलेपछि यात्रुहरु पैदल हिडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा बन्द भएको हो ।
शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न परेका छन् ।
वर्षामा हुने सडक अवरोध हटाउनको लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट दुई लाख २६ हजार भुक्तानी दिने गरी तीन महीनाका लागि स्काभेटर भाडामा राखेको छ ।
तीन महीनाका लागि भाडामा लिइएको स्काभेटरको समयावधि एक महीना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए ।
एक महिनामा उक्त स्काभेटरले वडा नं १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ का फूलबारी र कारागार रोड, ५ र ६ का बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं ८, ९ र १० को भुर–स्याउली रोडमा माथिबाट आएको पहिरो फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलवासेले बताए ।
खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुँदा उक्त सडकको बिग्रिएका संरचना नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट मात्र बन्न नसक्ने नगरपालिकाका प्राविधिकको भनाइ छ ।
अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै काम गर्नुपर्ने सदरमुकामवासीले माग जाहेर गरेका छन् । सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा पहिरो गएको स्थानीयहरुले बताएका छन् ।