गुल्मी, साउन १७ः गएराति पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो ।
पहिरोमा परेर मृत्यु हुनेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए।
बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ ।
पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।