पहिरोका कारण तनहुँको डुम्रे–वेंसीशहर सडकखण्ड अवरुद्ध

| 2021 Jul 02 | 08:57 am 7005

तनहुँ, असार १८: पहिरोका कारण तनहुँको डुम्रे–वेंसीशहर सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।

भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

‘हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ,’ उनले भने, ‘ठूलो पहिरो खसेकाले हटाउन चार पाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ।’

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो। उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ। तिमिल्सिनाले भने, ‘बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुन सकेको छैन।’

पहिरोले लागेर दुई घाइते

यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन्। पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन्। दुवै जना बेँसीशहर निवासी हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.