म्याग्दी, असार जिल्लाको मालिका गाउँपालिका–२ रुममा बाढी पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृह सहित नौ वटा घर बगाएको छ। रुमका विभिन्न ठाउँमा करिब २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन्।
खहरेखोलामा रहेको २२ किलोवाट क्षमताको पात्ले खहरेखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर विकले जानकारी दिए।
‘विद्युतगृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पुर्याएको छ,’ उनले भने ‘परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत सुबिधाबाट बञ्चित भएका छन्।’
पहिरोपछि आएको बाढीले पात्लेखहरे लघु जलविद्युत परियोजनाका प्राविधिक बस्ने टेकबहादुर बिकको दुई तले घर बगाएको छ। बेलीमा छेमबहादुर बिकको दुई तले घर, एक वटा गोरु सहित गोठ र रनबहादुर दर्जीको घर पहिरोले पुरिएको छ।
सोही वडाको खवाङमा मुक्ति बुढाथोकी, लक्ष्मी बुढाथोकी, रिमानसिंह पुन, हुत्नेपाखामा भुमीलाल बिकको घर पहिरोले पुरेको छ। कलातमा रैमति बिकको एक तले घर पुरेको छ। तल्लो खवाङको पाखो भत्किएर बिलबाङमा करिब २० घरलाई जोखिम बनाएको छ।
बेली र जेमका बासिन्दाले बिजुली बाल्दै आएको ११ किलोवाट क्षमताको छेरवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह पनि उच्च जोखिममा परेको छ। खवाङमा भुपेन्द्र नेपालीले निरन्तरको बर्षा, बाढी र पहिरोले जनजिवन अस्तब्यत भएको बताए।
वडा कार्यालय पछाडीको पहिरोले लुक्सीर, बेली, खवाङ र हुत्नेपाखा लगायतका ठाउँमा करिब २५ घरपरिवार बिस्थापित भएका छन्। उनिहरुलाई सुरक्षित ठाउँमा रहेका आफन्तकोमा आश्रय लिएर बसेका वडा अध्यक्ष नरबहादुर पुनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट