काठमाडौं, भदौ ६: आज बुधबारबाट भाडाका ट्याक्सी चलाउने चालकहरुले अनिवार्य ड्रेस लगाउनुपर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा चलाउने भाडाका ट्याक्सी चालकहरुले अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।
महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु गरेता पनि सबै चालकलाई पर्याप्त ड्रेस तत्काल उपलब्ध नहुने भएकाले एक महिनाको समयावधि दिएको छ ।
सबै ट्याक्सी ड्राइभरले एक महिनाभित्र ड्रेस नलगाए कार्वाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले सो कार्यक्रममा जानकारी दिए । ड्रेसले व्यवसाय र चालकलाई अनुसाशित बनाउनुको साथै यात्रुलाई पनि सहज हुने पन्तले विश्वास व्यक्त गरे ।