गोरखा, साउन ११ : मोबाइल चोरी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बिहीबार बारा जिल्लाको नेपाल भारत सिमानाबाट प्रहरीले पक्राउ गरेको हो ।
गत असार ३० गते बिहान उनीहरूले गोरखा नगरपालिका-६ पुरानो बसपार्क स्थित नमस्ते मोबाइल पसल चोरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका २० वर्षका जावेद आलम र ३० वर्षका सुरेश शाह रहेका छन् ।
पसलको सटर फुटाएर उनीहरूले ओप्पो मोबाइल १४ थान, सामसुङ मोबाइल २ थान, घडी ३० थान, ब्लुटुथ हेडफोन ५ थान र नगद आठ हजार गरी करिब पाँच लाख भन्दा बढीको चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आलम र शाहबाट चार थान ओप्पो मोबाइल र १२ थान सामसुङ मोबाइल सेट बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई चोरी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।