काठमाडौं, असोज ११ । बहुचर्तित पशुपति जलहरी प्रकरणमा कमजोरी भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी गरेको बुझिएको छ ।
अख्तियारको एक विशेष टोलीले अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष निकालिएको छ ।
जलहरी राख्दा असल मनसायले काम नभएको देखिएको र यस विषयमा व्यापक चर्चा परिचर्चा भएपछि पून: सुन थप्ने कार्य भएको अख्तियारले ठहर गरेको छ । अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो । सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो ।
२०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् ।
विकास कोषले १ सय ३ किलो ७ सय ७३ ग्राम सुन किनेको हिसाब किताव देखिएको छ । त्यसमा २ किलो ८ सय ९० ग्राम तामा, १ किलो २ सय ४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १ सय ७ किलो ९ सय २४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ ।
तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८ सय २२ ग्राम सुन खपत भएको उल्लेख छ । जलहरीका विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाए पछि अख्तियारले जलहरीको ताैल गरेको थियो ।