पर्वतीय पर्यटनबाट अर्थतन्त्रमा थप टेवा

| 2022 Dec 11 | 08:15 am 1505

कास्की, मङ्सिर २५ः उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताएका छन् ।  विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताैँ पर्वतीय महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताएका थिए ।

उपराष्ट्रपति पुनले भने, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”

हाम्रो पर्यटनको मेरुदण्डका रूपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा उनले जोड दिए । पर्वतीय पर्यटन केवल हिमाल आरोहण मात्र नभई पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरूको जीवन बुझ्ने र उनीहरूको आर्थिक–सामाजिक जीवनमा रूपान्तरण ल्याउन योगदान पु-याउने माध्यम पनि भएको उपराष्ट्रपति पुनले बताए ।

‘डिसेम्बर ११’ लाई लक्षित गरी प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्नेछ । महोत्सवको पहिलो दिन शनिबार विभिन्न खेल तथा कार्यक्रम आयोजना भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषबाणको खेल भएको छ । कार्यक्रममा ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीन वर्षमा दोब्बर पर्यटक भित्र्याउने विषयमा छलफल पनि भएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिको विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताए ।

जैविक विविधता पनि यहाँको अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिए । पदयात्रासँगै साहसिक पर्यटकका विभिन्न गतिविधिका माध्यमबाट पर्यटकीय विकास सम्भव भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले साधन स्रोतलाई उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।

गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले पछिल्ला समयमा जलवायु परिवर्तनको असर हिमाली एवं पर्वतीय क्षेत्रमा पर्न थालेको बताए ।नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निवानार्बु शेर्पाले पर्वतीय पर्यटनको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याए   ।

कार्यक्रममा पर्वतारोहणका क्षेत्रमा विशिष्ठ योगदान गर्ने विभिन्न व्यक्तित्वलाई उपराष्ट्रपति पुनले कदरपत्र, मेडल र दोसल्लासहित सम्मान गरेका थिए ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले पर्यटनको दिगो विकासका लागि ७३ बुँदे कार्ययोजना अगाडि सारेको जानकारी दिए ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित महोत्सव मङ्सिर २४ र २५ गते दुई दिनसम्म सञ्चालन हुने र पर्वतीय महत्वमा विभिन्न ३० वटा कक्ष रहेको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.