पर्यटन व्यवसायीलाई छोएन बजेटले

| 2022 Jun 03 | 07:42 am 1577

कास्की, जेठ २०ः आव २०७९/८० को सङ्घीय बजेटले पर्यटन क्षेत्रका लागि नौ अर्ब रुपियाँ बजेट छुट्याएको छ तर पर्यटन व्यवसायी बजेटप्रति उत्साहित बन्न सकेका छैनन् ।पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा बजेट धेरै भए पनि त्यसले पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुने नदेखिएको बताए । कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रका लागि राहतका रूपमा मौद्रिक नीति आउने आशा रहेको उनले सुनाए ।

पर्यटन क्षेत्रलाई अगाडि बढाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउन बजेट व्यवस्थापन भएको छ । बागलुङको बलेवामा रहेको बलेवा विमानस्थलको स्तरोन्नतिका लागि सरकारले बजेट व्यवस्थापन गरिएको छ । यो विमानस्थलको धावनमार्ग कालोपत्रे गरेपछि हवाई सेवा सञ्चालनको पर्खाइमा छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) गण्डकीका कोषाध्यक्ष राजेश पहारीले बजेट समग्रमा राम्रो रहेको बताए । बजेटमा पर्यटन क्षेत्रमा केही कर छुट र सहुलियतको व्यवस्था गरेको छ । उनले भने, “बजेटमा नयाँपन नभए पनि जेजति छ राम्रै छ । होेटल, ट्राभल, ट्रेकिङलाई समेटिएको छ ।’’

यसैगरी चितवन समाचारदाताका अनुसार चितवनका पर्यटन व्यवसायीलाई पनि बजेटले खुसी बनाउन सकेको छैन । चितवन पर्यटन विकास समितिका महासचिव तथा पर्यटनविज्ञ प्राध्यापक विश्व सुवेदीले नारायणी नदीको तटबन्धनबाहेक नयाँ कार्यक्रम समावेश भएको आफूले नपाएको बताए । चितवन देशकै तेस्रो पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहँदा नारायणी तटीय क्षेत्रलाई मात्र समेटेर मात्र नहुने उनले बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले समग्रमा बजेट राम्रो भए पनि पर्यटकीय क्षेत्रका लागि नयाँ कार्यक्रम नपरेको बताए।

पर्यटकीय क्षेत्रमा सरकारले गन्तव्यका लागि विकास गर्न पूर्वाधार निर्माण, पर्यटक आउने वातावरण, विमानस्थलको स्तरोन्नतिलगायतका कार्यक्रमलाई सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

आर्थिक वर्षमा केही ठूला पूर्वाधारका कार्यक्रम भने परेका छन् । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग निर्माण गरिने भएको छ । चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाउने बजेटमा उल्लेख छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.