पर्यटन वर्ष र सरकारको रमिते तयारी

| 2019 Nov 27 | 08:24 am 3878

  • लक्ष्मण भण्डारी

भ्रमण वर्ष २०२० को तयारीसँगै यसलाई सफल बनाउनका लागि व्यापक प्रचार प्रसारको आवश्यकता हुन्छ । तर, अहिलेसम्मको तयारीलाई हेर्दा कुनै पनि देशमा यस्तो तयारी गरेको पाइएन । नेपाल घुम्न आउँदा नेपाली फुड यस्तो हुन्छ भनेर कही पनि नत फेस्टिभल गरियो न त कुनै सांस्कृतिक कार्यक्रम ? २० लाख पर्यटक भित्राउने सरकारको घोषणा त भएको छ । तर, नेपालका रेस्टुरेन्टहरुको हालत के छ ? कस्तो गुणस्तर छ ? टुरिस्ट ट्राभलहरुले हाक्ने बसहरुको खाना गन्तब्य कस्तो छ ? यसबारे पनि बुझ्न जरुरी छ । मन्त्री सरकारी सचिव त स्कटिंगमा हिड्छन ।

अनुगमन गर्ने निकाय पनि चिर निन्द्रामा छ । विमानस्थलमा रहेका फुड स्टल र रेस्टुरेन्ट मा लुटतन्त्र छ । कालाबजारीयाको सुरुवात एयरपोर्टमा रहेका खाजा पसलहरुबाट सुरु हुन्छ । यसबाट नेपाल भ्रमण गर्न आएका विदेशी पाहुनाका अगाडि हाम्रो छवी कस्तो हुन्छ ? यस प्रति पनि ध्यान जान सकेको छैन । २०२० को सुरुवाती हुन अब एक महिना बाँकी रहँदा हाम्रा मठ मन्दिरहरुको अवस्था दयनीय छ । मठ मन्दिर पाटी पौवा गुम्बाहरुमा रौनक ल्याउने कार्य गरेको पनि पाइएको छैन ।

माघी मेला रिडी गुल्मी ,खप्तड मेला ,काठमाडौंका अनेक जात्रा, जहाँ खानपिनको राम्रो व्यवस्थाका साथै सुरक्षाको ग्यारेन्टीमा जोड दिनु पर्ने थियो त्यो पनि खासै हुन सकेको छैन । अन्तराष्ट्रिय कल्चर प्रोग्राम ,फुड फेस्टिवलहरुको ठाउँ ठाउँमा योजना गर्नु पर्नेमा त्यो पनि हुन सकेको छैन । अनि कसरी सफल होला भ्रमण वर्ष २०२० ? आफूले यस विषयमा ज्ञान हासिल नगरेको भए अन्य ठाउँको उदाहरण हेरेर भएपनि पाठ सिक्नु पर्नेमा सरकार रमिते भएर बस्नु दुःखको विषय हो ।

केहि पाठ सिक्नका लागि ब्राजिलको कार्निभलमा हरेक वर्ष ५ दिने मेला हेर्न १ लाख पर्यटक बाहिरबाट आउँछन् । त्यस्तै ताइवानको फेस्टिवल ,चाइनाको आइस फेस्टिवल, मंगोलियाको नादम फेस्टिवल, श्रीलंकाको इसला पेरहेरा, भुटान पेरुलगायतका देशहरुमा हुने फेस्टिवलहरु बाट हामीले पनि केही सिक्न जरुरी हुन्छ । फुड र म्युजिककै सहारा लिएर पनि पर्यटनको विकास गर्न सकिन्छ । हामीलाई सायद यो हेक्का छैन कि कुनै म्युजिक कन्सर्ट भइराखेको समयमा धेरै बिक्ने खाना र पियपदार्थ नै हो तर हामी त्यसको ख्याल नै राख्दैनौ ।

नेपाल नै गन्तब्य किन भन्नेबारे हामीले व्यापक प्रचार प्रसार गर्न जरुरी छ । चीनबाट पर्यटक आउँछन भनेर जति हामी ढुक्क छौं खोइ त तिनीहरु के चाहन्छ भन्ने विषयमा अध्ययन गरेको ?  नेपालमा पर्याप्त मात्रामा पर्यटक भित्राएर भ्रमण वर्ष सफल पार्ने हो भने अहिले पर्यटकहरुमा कस्तो प्रवृति देखिंदैछ त्यस को अध्ययन गर्न जरुरी छ ।

के हो त खाद्य पर्यटन (फुड टुरिजम) ?

स्वादिष्ट प्रख्यात रैथाने रुपमा खाईँने वस्तुहरू जसले पर्यटकलाई पनि त्यो ठाउँको पहिचानका रूपमा आकर्षित गर्ने गर्दछ भने त्यसलाई खाद्य पर्यटन (फुड टुरिजम) भन्न सकिन्छ । खाना नै सब भन्दा पर्यटनलाई अकर्षित गर्ने माध्यम हो । हामीले बुझ्न सक्छौ पेरिस, टोकियो, बार्सिलोना लिस्वन, युके, टर्की, थाईल्याण्ड, भियतनाम, दिल्ली र मुम्बई पनि फूड टुरिजममा अग्रसर छन् । तर, हामीमा विविधताले भरिपुर्ण हाम्रो रैथाने खाना हुँदा हुँदै पनि केही गर्न सकिएको छैन ।

संसारका प्रत्येक १० होटलमा हामी नेपाली सेफ (भान्से) एक न एक छौ । तर, हामीले नेपाली खानालाई उत्थान गर्न सकेका छैनौं । त्यतापट्टी सरकारको ध्यान त जान सकेको छैन नै होटल तथा रेस्टुरेन्टका संचालकहरु आफ्नो खानाको पहिचान दिनु भन्दा कमाउनमा नै तल्लिन छौं । त्यसैले नेपालको पर्यटन विकासमा फड्को मार्न सकिएको छैन । नेपाल आउने पर्यटक खर्च गर्नु भन्दा पनि बचाउ गर्न आउँने किसिमका देखिन्छन् । बाटोमा १० रुपैयांको डुनट किन्ने, आफै स्टोभबाली पकाउने, रासन आफै बोकेर आउने यस्ता पर्यटकबाट नेपालको आर्थिक विकासमा प्रभाव पर्ला त भन्ने कुराहरु पनि उठ्ने गरेका छन् ।

हामीले के कुरा बुझ्न जरुरी छ भने नेपालका धेरै शहरहरू खानेकुराबाट पनि परिचित छन् । जस्तै चैनपुर कुराउनी र सक्खरबाट परिचित छ भने वसन्तपुर गुराँसको जुस, हिले तोङ्वा, धनकुटा धनकुटे बिस्कुट, कानेपोखरी खीरबाट परिचित छन् । त्यस्तै गरी इलाम चिया, फिदिम बदाम, ताप्लेजुङ छुर्पी, सप्तरीको बरमझिया पेडा, लहान आँप, पाल्पाको केराबारी केरा र बटुकबाट परिचित स्थान हुन् । त्यसैगरी दाङको ढिक्रि र बरिया, कर्णालीको डुक्पा र स्याउ, ककनीको ट्राउट, त्रिसुलीको माछा यी कुरालाई हामीले पर्यटक सामु किन पस्किन सकेका छैनौं ?

हाम्रै सेलरोटीले डुनटको स्थान लिन सक्छ । हाम्रै रोटिहरुले पेनकेकको स्थान लिन सक्छ । हाम्रै भीर मौरी या रैथाने महले जामको स्थान लिन सक्छ । हामी चिनीको चास्नी मह भन्दा महँगो किन्छौ सिरप भनेर । नौनीमा नुन हालेर हैड्रोलिक गरेको बटर नौनी भन्दा महँगो किन्छौ । छ्यांग कोरियाबाट आयात गर्न थालेका छौं । आफै कहाँ उत्पादन गर्न सकिने छ्याङलाई प्रहरी लगाएर नष्ट गरिन्छ अनि कसरी दिन सकिन्छ पर्यटकलाई नेपाली खाना ! यी कुराहरुलाई राज्यले गम्भीर रुपमा लिएर अघि बढे पर्यटन वर्ष सफल होला अन्यथा बिनियोजित बजेट समाप्त पार्ने र तमासा देखाउँने काम बाहेक अन्य विकास हुन नसक्ने कुरामा दुईमत छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.