पर्यटन प्रवर्द्धनका लागि ११८ युवालाई होटल तालिम

| 2021 Oct 01 | 08:20 am 2169

काठमाडाैं, असाेज १५ः कोथिना मिठो छ होटल तालिम केन्द्रले मुलुकको पर्यटन प्रवद्र्धनका लागि ११८ युवालाई होटल तालिम प्रदान गरिएको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोभिड–१९ ले धरासयी बनेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने । मन, वचन, कर्म र लगनशील भएर काम गरे देशको विकास हुने उनको भनाइ थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रशिक्षक समिक शर्माले विद्यार्थीले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । यस्ता तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि हुने उनको भनाइ थियो ।

तालिमका प्रशिक्षक प्रकाश भण्डारीले नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको भन्दै यस क्षेत्रलाई अगाडि बढाउन यस्ता तालिमले उत्पादन गरेको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । तालिम दुईदेखि छ महिना सञ्चालन भएको थियो ।

एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त केन्द्रले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिए । तालिममा आर्थिक अवस्था कमजोर भएका ७५ विद्यार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको पोखरेलले बताए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि सुरु भएको पहिलो र दोस्रो चरणको कारोना सङ्क्रमणको समयमा कोथिना मिठो छ संस्थाले राजधानी काठमाडौँ र राजधानी बाहिरका विभिन्न जिल्लामा निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.