पर्यटक पदमार्ग बनाउन ज्यानको बाजी थापेर काम

| 2021 Feb 07 | 07:50 am 2385

म्याग्दी, माघ २५ः पर्यटन विकासको राम्रो सम्भावना रहेको धौलागिरि आइसफल जाने पदमार्ग निर्माण गर्न स्थानीयहरु जुटेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयहरु धौलागिरि आधार शिविर जाने पर्यटक पदमार्ग बनाउन ज्यानको बाजी थापेर काम गरिरहेका हुन् । पर्यटनको राम्रो सम्भावना भएर पनि पछि परेको स्थानीयहरुको गुनासो रहेको छ ।

सहज पदमार्ग नहुँदा आकर्षक पर्यटकीय गन्तव्य भए पनि यो क्षेत्र ओझेल परेको छ । पदमार्ग बनाउन संघीय सरकारको पर्यटन मन्त्रालयले क्रमागत रुपमा बजेटको व्यवस्था गरेको छ ।

चालू आर्थिक वर्षमा मन्त्रालयले २५ लाख रुपियाँ विनियोजन गरेको छ । मन्त्रालयले बजेटको व्यवस्था गरिदिएपछि चिमखोखाका स्थानीयहरु उत्साहित हुँदै कहालीलाग्दो भीरमा झुन्डिएर पदमार्ग बनाउन जुटेका छन् । गाउँदेखि दुईदिनको बाटोमा पर्ने जंगलमा बास बसेर कोखे भीरमा पदमार्ग बनाउन स्थानीयहरु कस्सिएका छन् । पदमार्गका लागि उनीहरुले श्रमदान पनि गरेका छन् ।

सदरमुकाम बेनीदेखि छोटो र आर्कषक पर्यटकीयस्थल भएकाले पदमार्ग निर्माण गरी पर्यटन भित्र्याउने लक्ष्य गाउँलेहरुको छ । बेनीदेखि ४ दिनमा धौलागिरि आइसफल पुग्न सकिन्छ ।

चिसो मौसममा जंगलको ओडारमा बसेर चिमखोलाबासीहरुले पदमार्ग बनाउँदै छन् । उनीहरुले भीरमा एउटा डोरीको भरमा काम गरिरहेका छन् । चिमखोलाका दिनेश घताने तीन महिनादेखी घर नगई जङ्गगलको एउटा ओडारमा बसेर पदमार्ग निमार्णमा खटिनुभएको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.