काठमाडौं, चैत्र १५ : प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा आज (शुक्रबार) हुने सामाजिक विषयको परीक्षा रद्द गरिएको छ । रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् भने प्रदर्शन आगजनी र ढुंगामुढाबाट जस्ता कार्य गरेका छन् । प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्नस्थानमा स्थिति अहिले तनावग्रस्त बनेको छ । आज हुने अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।
जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्रोशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको स्रोतले जनाएको छ ।

परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा तोडफोड गरी आगजनी गरेका छन् ।
आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।
त्यस्तै शुक्रबार हुने परीक्षा रद्द भएको विरोधमा रौतहटको चन्द्रनिगाहापुरको बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । साथै प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।