वीरगञ्ज, १८ असार : आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दुई जनाको उद्धार गरिएको छ ।
पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान चार जना विद्यार्थीलाई बगाएको थियो । जसमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था अज्ञात छ ।
त्यसैगरी बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र १५ वर्षीय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये घाइते संगीतालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
उद्धार गरिएका सुमनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
पर्सागढी नगरपालिका–४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा सोमबार बिहान परीक्षा दिएर घर फर्कदै गरेका उनीहरुलाई पन्थी खोलाको बाढीले बगाएको थियो ।
विद्यालयबाट एकैसाथ घर फर्किरहेका चार विद्यार्थीलाई बाढीले बगाएपछि माछा मारिरहेका स्थानीयले उद्धार गरेको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बताए । बेपत्ता सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।