परिवार नियोजनको साधनसहित किशोर किशोरी भेटिनु गलत हैन : गगन थापा

रिपोर्ट नेपाल | 2018 Aug 15 | 04:22 pm 2375

काठमाडौं, साउन ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले किशोर किशोरीहरूसँग परिवार नियोजनका साधन हुनु नराम्रो नभएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभामा सामान्य छलफलका लागि प्रस्तुत गरेको ुसुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु बारे बोल्दै सांसद थापाले परिवार नियोजनका साधन भएकै भरमा सुरक्षाकर्मीले गलत क्रियाकलापमा लागेको भन्ने गरेकोमा त्यसमा परिवर्तन हुनुपर्ने बताए।

संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफलका क्रममा सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको सधान भेटाएको भनेर छापामा समेत आउने गरेकोमा आश्चर्य व्यक्त गरे।

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप हैन। सुरक्षाकर्मीहरूलाई यो ऐन आएको उहाँहरूलाई बताइदिनुहुन आग्रह गर्दछु’, थापाले भने। सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.