परिमार्जन नभई एमसीसी पास हुँदैनः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल | 2020 Feb 29 | 01:53 pm 1477

सिन्धुपाल्चोक, फागुन १७: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् ।

प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए ।

अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे । आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ छ ।

उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्याए ।

अध्यक्ष दाहाल आजदेखि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा साँगाचोकगढी नगरपालिकाको सुनकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार सुकुटे पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.