परराष्ट्रमन्त्री अमेरिका र सामान्य प्रशासन मन्त्री भारत प्रस्थान

| 2018 Dec 17 | 10:40 am 1875

काठमाडौं, पुस २ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्‍त राज्‍य अमेरिका र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भारत प्रस्थान गरेका छन्।

आज बिहान अमेरिकाको भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री ज्ञवालीले भोलि समकक्षी पोम्पियोसाग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसाग पनि भेटवार्ता गर्नेछन्। मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कनु हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संरचनामा कर्मचारी व्यवस्थापनको अभ्यासबारे भारतीय टोलीसँग आज छलफल गर्नेछन्। मन्त्री पण्डितले भारतीय समकक्षीसहित त्यहाँका कर्मचारी तालिम प्रतिष्ठान प्रमुख, संघीय लोकसेवा आयोगका अध्यक्षलगायत पदाधिकारी, कर्मचारी प्रशासन हेर्ने निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्मचारीको वृत्ति विकास, बढुवा तथा सरुवा प्रणाली, स्थानीय तहका कर्मचारीको क्षमता विकासमा सहयोग लगायत विषयमा समेत मन्त्री पण्डितले स्थलगत अध्ययन गर्ने कार्यक्रम छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएसँगै छिमेकी मुलुकमा संघीय संरचनामा कर्मचारीको व्यवस्थापन के कसरी भएको छ र स्थानीय तहमा खटिएका कर्मचारीको क्षमता विकासमा त्यहाँको अभ्यास कस्तो छ भन्ने विषयमा छलफल एवं अध्ययन गर्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्री पण्डित सहितको टोलीमा आइतबार भारत प्रस्थान गरेको हो। टोलीमा मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव भूपाल बराल र स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख सहसचिव सुरेश अधिकारी लगायत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.