कास्की, असार १२ : पोखरा पर्यटन परिषद्ले हरेक बर्ष असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सवको १५ औँ संस्करणमा यसवर्ष पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ पामेमा हुने भएको छ ।
परिषद्वारा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष केदारनाथ शर्माले असार १५ मा पामेस्थित अशोक पालिखे र कृष्ण मोहन पराजुलीको खेतमा यस वर्षको महोत्सव गरीने भएको छ ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायिकीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न तथा हाम्रो परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन न गर्न प्रत्येक वर्ष महोत्सव गर्दै आएको उनले बताए ।
महोत्सवका अवसरमा साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, महिला तथा पुरुषको हिले दौड (नेपाली र विदेशी दुवैको छुट्टाछुट्टै), रस्साकसी (नेपाली र विदेशीबीच), पत्रकारको हिले दौड प्रतियोगिताका साथै उत्कृष्ट कृषक सम्मान कार्यक्रम गरीने भएको छ ।
साउने प्रतियोगिता (हलगोरुको दौड) मा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार, एक हजार र ५०० नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने छ ।
यसैगरी असारे रोपाइँ र गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । दौड प्रतियोगिताका विजयीलाई भने ट्रफि प्रदान गरिने छ ।