काठमाडाैं, जेठ २३ः भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरेका अधिकृत क्याडेटहरुलाई आज मिति २०७९ जेठ २३ गते एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त तालिमका ६२ जना पदिक/हुद्धा अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेमन छन् ।
उक्त अवसरमा प्रधान सेनापति महारथी शर्माले सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट गणेश डल्लाकोटीलाई खुकुरी प्रदान गरेका थिए ।
प्रधान सेनापति महारथी शर्माले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकाेमा हार्दिक बधाई दिदै तालिमको दौरान अधिकृत क्याडेटहरुले देखाएका शारीरिक र मानसिक सहनशीलता, समर्पण भाव, उच्च आत्मविश्वास, कठिन परिश्रम र दृढताको प्रशंसा गरेका थिए । उनले नेपाली सेनाले संविधान प्रदत्त प्रमुख जिम्मेवारीको अलावा विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक- सैनिक सम्बन्ध बिस्तार र अप्रत्यासित रुपमा आईपर्ने राष्ट्रिय संकटहरुमा नेपाली जनतासँग काँधमा काँध मिलाउँदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको र विगत देखि नै स्वदेश तथा विदेशमा पुर्याएको योगदानकै आधारमा नेपाली सेनाले वर्तमानमा पनि व्यावसायिक र मर्यादित संगठनको रुपमा बिम्ब स्थापना गर्न सकेको बताएका थिए ।
सोही समारोहमा प्रधान सेनापति शर्माले नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा नेपाली सेनाको जिम्मेवार अधिकृतका हैसियतले आफुलाई प्राप्त जिम्मेवारीहरु संस्थागत हितलाई केन्द्रविन्दुमा राखी प्रशंसनिय ढंगबाट पुरा गर्दै नेपाली सेनाको व्यावसायीक छवीलाई थप उज्जवल बनाउन व्यक्तिगत तथा सामुहिक योगदान प्रदान गर्नेमा पूर्ण विश्वास व्यक्त गरेका थिए ।