पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति प्रेस युनियनको आपत्ति

रिपोर्ट नेपाल | 2018 Aug 10 | 07:43 pm 1968

काठमाडौं, साउन २५ : प्रेस काउन्सील नेपालले हिजो (बिहीबार) सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गरी वर्गीकरण राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रेरित भई नियमित रूपमा प्रकाशित भइरहेका पत्रपत्रिकामाथि घटुवा गरिएको प्रति विरोध जनाएका छन् ।

नियमित रूपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीँ प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको गुनासा आएको जनाउँदै पत्रपत्रिका वितरण सुपरिवेक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘यो कुराले हामीलाई झन् आक्रोशित तुल्याएको छ । काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रूपमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रूपमा हामीले लिएका छौ । पत्रपत्रिका वर्गीकरण पछि दिइने सेवा सुविधा वितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरूलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’ काउन्सील नेतृत्वको कोपभाजनमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मी साथीहरूका साथमा देशभरका पत्रकार साथीहरूलाई लिएर युनियन आन्दोलनमा उत्रने चेतावनी समेत युनियनले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.