बारा, फागुन २५: पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको भएको अभियोग लागेपछि फरार रहेका एक जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक बारा गडहल गाबिस वडा नं५ हाल परिवर्तित बारागढी गाउँपालिका वडा नं ६ गडहल टोलका कुन्दन भन्ने नरेन्द्र कुमार फौजदार रहेका छन् ।
फौजदारलाई बाराको बारागढी गाउँपालिका ६ गडहलबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि चार राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।
पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेलसहितले २०६४ असोज १८ गते अपहरण गरी एक महिनापछि हत्या गरेको ठहर गर्दै २०७३ पुस २० गते सर्वोच्च अदालतले सजाय सुनाएको थियो ।
फौजदार पत्रकार साहको हत्यालगत्तै फरार भएका थिए । हत्यामा संलग्न लालबहादुर चौधरी र हरेराम पटेल भने अझै फरार छन् । पत्रकार साहको शव २०६४ कात्तिक २२ गते जङ्गलमा भेटिएको थियो ।