पत्रकार राना बचाऊ अभियान

रिपोर्ट नेपाल | 2018 Jul 11 | 08:34 am 3049

बागलुङ, असार २७ : ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उनका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ। विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ।

पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट रु दुई लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए। महासंघका कोषाध्यक्षसमेत रहनुभएका रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो। शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको अध्यक्ष शिरीषले बताउनुभयो । प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघलगायतका संस्थाले पनि सहयोग अभियान चलाएका छन्।

हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म रु एक लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिए।

धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ (शरीरले रगत उत्पादन नगर्ने) रोगको उपचारमा एक-डेढ महिनाको समय लाग्ने जनाइएको छ। दुई साताअघि अस्पतालमा भर्ना हुनुभएका रानाको समस्या एक महिनाअघि निदान भएको थियो । अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहनुभएको छ । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.