काठमाडौं, भदौ २३: नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्य र पत्रकार कृष्णा आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता यामप्रसाद आचार्यको सोमबार बिहान ३ बजे आफ्नै निवास किर्तीपुरमा निधन भएको थियो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको आजै बिहान पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उहाँकाे पार्थिव शरिरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, डा बाबुराम भट्टराइ, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, विभिन्न राजनीति दलका नेताहरू, पत्रकारलगायत महासंघका पदाधिकारी र सदस्यहरूले श्रद्धाञ्जली दिएका थिए ।
आचार्यकाे निधन प्रति गहिराे दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली अर्पण गर्दै आत्माकाे चिर शान्तिकाे कामना गरेकाे छ । जारी विज्ञप्तिमा पितृ शाेकमा परेका महासंघका अध्यक्ष आचार्यसहित शाेकाकुल परिवारजनमा गहिराे समवेदना प्रकट गरिएकाे छ ।
स्वर्गीय यामप्रसाद आचार्य प्रति रिपोर्ट नेपाल डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका परिवारजनमा हार्दिक समवेदना प्रकट गदैछौं ।
शोक विज्ञप्ति
मिति : २०७६।०५।२३
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । उहाँहरुका पूज्य पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा आज विहान ३ः०० बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको छ । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । स्वर्गीय शर्माको पार्थीव शरीरको आज विहान ७ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उहाँको पार्थीव शरीरमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसहित प्रतिनिधिसभाका सम्मानीय सभामुख कृष्णबहादुर महरालगायत विभिन्न राजनीति दलका नेताहरु र नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं पूर्वपदाधिकारीहरुलगायत पत्रकारहरुले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा छोरा हुनुहुन्छ ।
महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
………………….
रमेश विष्ट
महासचिव