पत्रकार ढकालका हत्यारा पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 19 | 06:36 pm 1571

हेटौँडा, माघ ५ : पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।

पक्राउपर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।

त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो । तत्काल हेटौँडा अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो । विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आउनुभएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए।

बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहनुभएका ढकालको हत्यामा संलग्न व्यक्तिको गिरफ्तार गर्न सफल भएकामा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले प्रहरीलाई धन्यवाद दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.