‘पत्रकारको नाककाे हड्डी भाँच्न’ मेयरले छुट्याए एक करोड बजेट !

रिपोर्ट नेपाल | 2019 Jun 04 | 04:22 pm 1795

इटहरी, जेठ २१ :  ‘पत्रकारको नाककाे हड्डी भाँच्न’ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक करोड बजेट छुट्याएको बताएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी मेयर चौधरीले नाकको हड्डी भाँच्न एक करोड छुट्याएर राखेको बताएका हुन् ।

पत्रकार अनुपमसँग अपशब्द बोल्दै ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ । त्यसको लागि मैले एक करोड छुट्याएको छु । एक घडेरी राखेको छुँ’ भन्दै धम्क्याएका हुन्।

आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिँदै भने, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ । अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए । यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। लामो समय काठमाडौमै बसेका उनले यसअघि पनि फेसबुकमा अभद्र कमेन्ट गर्दै आइरहेका छन्।

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.