पत्रकारकाे लागि कानुन काल बनेर आउँदैछ, सजग बनौं : प्रेस काउन्सिल अध्यक्ष

रिपोर्ट नेपाल | 2019 May 09 | 05:03 pm 2514

ललितपुर, वैशाख २६ : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले पत्रकारलाई निरुत्साहित गर्ने गरी कडा कानुन ल्याउन लागेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अबको ६ महिनाभित्र पत्रकारलाई निरुत्साहित गर्ने गरी कानुन ल्याउन तयारी गरेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले उनले अहिले सरकारले प्रस्ताव गरेको विधेयक जस्ताको तस्तै पारित भएमा पत्रकारले पत्रकारिता गर्न कठिन हुने बताए । उनले भने, ‘काल बनेर कानुन आउदैछ, सबै सजग बनौं ।’

सरकारले प्रेसमाथि अङ्कुश लगाउन गरी कानुन बनाउनमा कसले सक्साईरहेको छ भन्ने विषयमा पत्रकारहरू सजग भएर लाग्नुपर्ने उनको भनाई छ । पछिल्लो दिन समाचारका नाममा आचारसंहिता उल्लंघनका घटना घटेपछी सरकार पत्रकारलाई नियन्त्रण गर्नतर्फ उद्धत रहेको भन्दै उनले पत्रकारले आफ्नो आचारसंहिता बिर्सन नहुने बताए ।

पत्रकारिताका मूल्य मान्यता बिर्सने, स्वतन्त्रताको नाममा मनलाग्दी लेख्ने प्रवृत्ति देखिएको भन्दै उनले त्यसमा पत्रकार आफैँ सच्चिएर अगाडी बढ्नुपर्नेमा औँल्याए । ‘सायद हाम्रै केही कामले सरकार पत्रकारलाई नियन्त्रण गर्न उक्सिरहेको उसले यस्तो किसिमको कानुन ल्याउन खोजेको देखिन्छ’ श्रेष्ठले भने, ‘सबै सचेत, मर्यादित र जिम्मेवार बनौं ।’

सरकारले ल्याउन लागेको कानुनमा सिधै जेल पठाउने, मिडिया खारेज गर्न सक्ने उल्लेख गरिएको छ । यस्तै गरी पत्रकारले गतल सूचना प्रकाशन प्रसारण गरेमा सरकारले ल्याउन लागेको प्रेस काउन्सिल ऐनमा एक लाखसम्म जरिवाना तिर्नुपर्ने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.