काठमाडौं, असोज १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिङ्गापुर प्रस्थान गर्दैछन् । उनका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने भएका हुन् ।
प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए ।
सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो ।
छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ ।
अहिले पनि सोही अस्पतालमा फलोअपका लागि जान लागेका हुन् । उपचारका लागि अध्यक्ष प्रचण्डका साथमा छोरी गंगा दाहाल र भतिज समिर दाहाल रहने छन् । नेपालमा उपचार सम्भव नभएपछि सीतालाइ भारतमा लगिएको थियो ।
भारतमा उपचार गरेर फर्किएपछि पनि रोग निको नभएपछि उनलाइ थप उपचारका लागि सिंगापुर लगिएको हो ।